काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी प्रम ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि स्थिति बिग्रिए बताएका छन् ।
विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद् र पीडादायी भएको गौतमले बताएका छन् । सरकार संचालनको एउटा कार्यकाल पूरा नहुँदै दुःखदायी पीडा भोग्नु परेको भन्दै उनले चिन्ता जनाएका छन् ।
संयोजक गौतमले शनिबार बिहान विज्ञप्ति जारी गरेर पार्टी एकीकरणको तीन वर्ष पनि ब्यतित नहुँदै नेकपा विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद् र पीडादायी भएको बताए ।
‘नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरूको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरूको अयोग्यताको द्योतक हो’, उनले भनेका छन् ।
‘हामी सबैलाई थाहा हुनुपर्छ, चार दशकदेखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरू प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश वर्षसम्म सशस्त्र संघर्ष संचालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका बीच भएको एकीकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो’, उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया