इनरुवा । कोशी टप्पुको जंगली हात्ती मकुनालाई नेल लगाउने निर्णय गरिएको छ ।
वस्तीमा प्रवेश गरी मानवीय क्षति पुर्याउँदै आएको कोशी टप्पुको जंगली हात्ती मकुनालाई नेल लगाउने निर्णय गरिएको हो । सुनसरी प्रशासनले मकुनालाई नियन्त्रणमा राख्न खुट्टामा नेल अर्थात कडी लगाउने तयारी अनुसारको प्रकृया अघि बढाएको जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले मकुनाले मानवीय क्षति पुर्याउने क्रम बढ्दै गएकाले आरक्षको जंगल भन्दा बाहिर प्रवेश रोक्न नेल लगाएर राख्ने तयारी थालिएको बताए ।
पोखरेलले तत्काल हात्ती नियन्त्रणमा लिन उक्त कदम चालिए पनि त्यस पश्चात के गर्ने भन्ने विषय प्राविधिकको राय र सुझावमा भर पर्ने बताए । उनले पशु चिकित्सक सहित हात्ती विद र प्राविधिकको टोली आरक्षमा आइसकेको बताए ।
गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले समेत हात्तीलाई तत्कालको लागि नेल लगाएर राख्ने भनि गरिएको निर्णय आफुहरुलाई मान्य रहेको बताएका छन् । उनले हात्तीलाई आरक्षको मध्य भागमा पुर्याएर तत्कालको लागि नेल लगाएर राख्ने सहमति बनेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया