भारतमा कोरोनाभाइरस खोपको परीक्षण र उत्पादन अन्तिम चरणमा प्रवेश गरेको खबर आएको छ। अबको एक महिनामा त्यहाँ कोभिड खोपको प्रयोग सुरु हुनसक्ने भारतीय स्वास्थ्यमन्त्रीले बताएका छन्।
त्यसैले नेपालले पनि आफ्नो प्रारम्भिक आवश्यकता भारतबाटै पूर्ति गराउने पहल भइरहेको दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले बताएका छन्। नेपालले खोप हासिल गर्ने पहलका क्रममा दिल्लीस्थित दूतावासले त्यहाँका खोप निर्माता तथा सरकारी अधिकारीहरूसँग थालेको संवाद आशलाग्दो रहेको राजदूत आचार्यले बताएका छन्।
पश्चिमी देशहरूमा कोरोनाभाइरस विरुद्ध बनेका खोपहरूको प्रयोग हुन थालिसकेको बेला नेपालमा त्यसको आपूर्ति कहिले र कताबाट होला भन्ने जिज्ञासा बढिरहेको छ। यसै मेसोमा यही साता भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटका वरिष्ठ अधिकारी तथा भारतको नीति आयोगका प्रमुखसँग राजदूत नीलाम्बर आचार्यले कुराकानी गरेका थिए।
यूकेको अक्सफर्ड यूनिभर्सिटीले एस्ट्राजेनेका औषधि कम्पनीसँग मिलेर विकास गरेको खोप सेरम इन्स्टिच्युटले बनाउँदैछ। उक्त खोपको प्रभावकारिता ७० देखि ९० प्रतिशत हुने बताइएको छ। ‘सेरम इन्स्टिच्यूटको क्षमता निकै ठूलो छ। नेपालको आवश्यकता पनि उसले सम्बोधन गर्न सक्छ’ राजदूत आचार्यले भने।
उनका अनुसार भारतले आफ्नो आवश्यकताको निम्ति उत्पादन गर्ने जति खोप हुन्छ त्यसमा नेपालको आवश्यकता पनि थपे उत्पादन गर्ने कम्पनीलाई भन्न नेपाल पनि लाभान्वित हुनसक्छ। ‘यही सन्दर्भमा सेरम इन्स्टिच्यूटसँग हाम्रो वार्ता भइरहेको छ। सोमवार दूतावासमा आउनुभएको थियो। वहाँसँगको वार्ता आशादायी रह्यो’ उनले भने।
भारतबाट कति परिमाणका खोप आउला ?
गत महिना नेपाल भ्रमणमा आएका बेला भारतीय विदेशसचिव हर्ष शृंगलाले नेपालको खोप आवश्यकता भारतको प्राथमिकतामा रहने बताएका थिए। बिहीवार राजदूत आचार्यले भारतको नीति आयोगका प्रमुख कार्यकारी अमिताभ कान्तसँग कोभिडविरुद्धको खोपको उत्पादन तथा उपलब्धताबारे कुराकानी गरेका थिए।
कान्तले पनि भारतको खोप सहयोगमा नेपाल प्राथमिकतामा पर्ने बताएको दूतावासले उल्लेख गरेको छ। राजदूत आचार्यका अनुसार नेपालले सुरुमा आफ्नो जनसङ्ख्याको २० प्रतिशतलाई पुग्नेगरी खोप आपूर्ति गर्न खोजिरहेको छ जसमा अग्रमोर्चामा रहेर काम गर्ने तीन प्रतिशतलाई पहिलो चरणमा अनि जोखिम समूहमा रहेकाहरू १७ प्रतिशतलाई दोस्रो चरणमा खोप दिन खोजिएको छ।
‘यो भनेको करिब ६० लाख मानिस वा एक करोड २० लाख मात्राको खोप हुन आउँछ। हामीले के आशा गरेका छौँ भने हाम्रो सुरुका यी आवश्यकता भारतबाटै सम्बोधन हुनसक्छ’ उनले भने। ‘तुरुन्तै सबै एकैचोटि आउने त होइन तर उत्पादन सुरु भएपछि त्यो परिमाण प्रष्ट हुँदै जान्छ।’ बीबीसी
तपाईको प्रतिक्रिया