काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।
शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडले फिर्ता लिइसकेको अध्यादेश स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको बताएका हुन् ।
प्रमुख सचेतक खाँडले ‘फिर्ता लिइसकेको अध्यादेश फेरि लाँदा राष्ट्रपतिले त्यति चाँडो रेस्पोन्स गरेर स्वीकृत गर्नु उहाँको कमजोरी हो, संविधान विपरीत हो ।’ भनेका छन् । एक पटक फिर्ता भएको संवैधानिक परिषद ऐन संशोधन अध्यादेश आउनासाथ जारी गर्नु संविधानको भावना र मर्म विपरीत भएको ठहर छ ।
८ वैशाखमा संवैधानिक परिषद ऐन संशोधन अध्यादेश ल्याइको थियो, तर पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि तीन दिनमै सरकारले फिर्ता लिएको थियो । दोस्रो त्यही अध्यादेश आउँदा के हुन्छ भनेर ख्याल गर्नुपर्ने उनले बताए ।
खाँडले थपे, ‘संविधानको पालना गर्ने, संविधानको रक्षा गर्ने प्रमुख दायित्व राष्ट्रपतिको हो । सरकारले गरेका निर्णयहरु संविधानको प्रतिकूल छन् भने सच्याउन राष्ट्रपतिले सुझाव दिने सल्लाह दिने परम्परा छ र यो चलन संसारभरी छ ।’
तपाईको प्रतिक्रिया