काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मन्त्रीहरु नै बेखबर बनेका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मंगलबार मन्त्रिपरिषद्मा छलफल नै नभएको पाइएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अब परिषद्का बहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्छ । मंगलबार बसेको बैठकमा यसबारे कुनै एजेण्डा नभएको र ठाडो प्रस्ताव समेत नआएको एक मन्त्रीले बताए ।
अध्यादेश तुरुन्त खारेज हुनुपर्छः प्रचण्ड
यता नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै उनले यसको विरोध गरेका हुन् । उनले ‘सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहासहो ।’ भनेका छन् ।
‘संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा, देशका सबै राजनीतिक दलले तुरुन्त संसद अधिवेशन बोलाउन पनि भनेको सन्दर्भमा पार्टीभित्र गम्भीर छलफल–बहस भइराखेको स्थितिमा पार्टीको बैठक र पार्टीलाई जानकारी पनि नदिइकन कार्यदलको मर्म र भावनालाई पनि बेवास्ता गरेर संविधानको मर्म र स्पिरिटलाई लत्याउँदै, लोकतन्त्रको उपहास गर्दै आज अध्यादेश जारी गर्नु बदनीयपूर्ण छ ।’ सरकारले ल्याएको अध्यादेश तुरून्त खारेज गर्न माग गर्दै प्रचण्डले भनेका छन् ।
प्रमुख नेताको राजीनामा मागियो !
प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका नेता खड्गप्रसाद ओलीलाई असहयोग गर्दै आएका प्रमुख सचेतक देव गुरुङको पद धरापमा परेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार गुरुङको राजीनामा माग गरेका छन् । ओलीको कठोर कदमले पूर्वमाओवादीभित्र खैलाबैला भएको छ । ओलीले मंसिर २८ गते बसेको स्थायी समितिको बैठकपछि गुरुङलाई प्रमुख सचेतक पदबाट राजीनामा मागेका थिए ।
जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले सोमबार नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् । दाहालले त्यसको प्रतिवाद गरेका छन् । पूर्वमाओवादी गुरुङ नेकपामा ओलीका आलोचक मानिन्छन् । गुरुङले शुरुदेखिनै ओली सरकारको आलोचना गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया