काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज राष्ट्र र सत्मार्गमा हिँडाउन सक्ने प्राज्ञिक सामर्थ्य आवश्यक रहेको बताएका छन् ।
ओलीले प्राचीन कालदेखि नै ज्ञानभूमिका रूपमा परिचित नेपाल सिङ्गो हिमवत्खण्डको गौरव भएको र यस भूमिबाट नै विकसित भएका अनेकौँ दर्शन, सभ्यता र ज्ञानभण्डारले आज पनि विश्वमा प्राज्ञिक नेतृत्व गरिरहेको यथार्थलाई हामीले भुल्नु नहुने बताएका हुन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई पठाउनुभएको भिडियो सन्देशमा प्रम ओलीले सो कुरा बताए।
सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, विश्वकै प्राचीन वैदिक सभ्यता, संस्कृति, चिकित्सा, धर्म, दर्शनलगायत ज्ञान विज्ञानको उद्गम भूमि हाम्रो देश नेपालको गरिमालाई अनेकौँ विविधताभित्र लुकेको एकतापूर्ण सामाजिक संरचना र आपसी सद्भावपूर्ण सौन्दर्यले अझै उचाइ प्रदान गरेको छ । यहाँको भौगालिक, प्राकृतिक, बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक विशिष्टता नै हाम्रो मौलिक चिनारी हो, जुन विश्वका लागि अद्भुत लाग्ने गर्दछ ।
मानवीय अन्तः प्रज्ञालाई जागृत गराउँदै त्यसैका माध्यमबाट घर, छिमेक, समाज, राष्ट्र र विश्वलाई नै सत्मार्गमा हिँडाउन सक्ने प्राज्ञिक सामथ्र्यमा नै प्रज्ञा-प्रतिष्ठानजस्ता संस्थाहरूको प्रतिष्ठा र गौरव निर्भर रहन्छ भन्दै उनले मन्तव्यमा यी सबै कुराको प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान र प्रकाशन गरी नेपाल र नेपालीको सम्पत्तिलाई विश्वसामु पस्कने कुरामा नेपाल प्रज्ञा-प्रतिष्ठान सफल हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया