काठमाडौं । गत साउन १५ देखि उडान बन्द गरिएका ६ ओटा चिनियाँ जहाज व्यवस्थापनको टुङ्गो अझै लाग्न सकेको छैन । अर्थ मन्त्रालयले विमान व्यवस्थापनको जिम्मा नेपाल वायुसेवा निगमकै भएको बताएपछि निगम व्यवस्थापनको विकल्पमा जुटेको छ ।
चिनियाँ जहाज सञ्चालन गर्दा नेपाल वायुसेवा निगमले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७६/७७ सम्म करीब ५ अर्ब रुपैयाँभन्दा बढी घाटा बेहोरपछि निगम सञ्चालक समितिले साउनदेखि जहाज बन्द गर्ने निर्णय गरेको थियो । निर्णय भएको ४ महीना बितिसक्दा पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा कुनै टुङ्गो लाग्न सकेको छैन ।
निगम सञ्चालक समितिको गत साउनमा बसेको बैठकले चिनियाँ जहाजबाट उडान गर्न नसकिने निर्णय गर्दै जहाज व्यवस्थापनका लागि पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको थियो । यस विषयमा पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग राय मागेको थियो । तर, अर्थबाट पर्यटन हुँदै जहाज व्यवस्थापनको जिम्मा निगमकै काँधमा आएको छ ।
पर्यटन मन्त्रालयले चिनियाँ जहाज व्यवस्थापनको जिम्मेवारी नेपाल वायुसेवा निगमलाई नै दिएसँगै निगमले अहिले जहाज व्यवस्थापनका लागि विभिन्न विकल्प अघि सारेको निगमका महाप्रबन्धक डीमप्रसाद पौडेलले जानकारी दिए । पौडेल सञ्चालक समितिमा आएदेखि नै यी जहाज व्यवस्थापनको विकल्प अघि सारेका थिए । आर्थिक अभियान दैनिकबाट
तपाईको प्रतिक्रिया