सप्तरी (फत्तेपुर) । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा संकट नआउने बताएका छन् ।
सिँचाइमन्त्री पुनले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा संकट नआउने गरी सरकारले काम गरिरहेको बताएका हुन् । नाकाबन्दीका समयमा डिजेलरपेट्र्रोलको आयात ठप्प हुँदा नेपालीले सास्ती ब्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत् उत्पादन र वितरण हुने भएकाले आगामी दिनमा पेट्र्रोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने उल्लेख गरे ।
सरकारले ऊर्जा दशक (२०७५/२०८५) कार्यक्रम कार्यान्वयन गरिरहेको भन्दै उनले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने बताए । १० हजार मेगावाटले आन्तरिक माग धान्ने र बाँकी ५ हजार मेगावाट क्षेत्रीय बजारमा बिक्री गर्ने मन्त्री पुनको भनाइ थियो ।
पर्याप्त विद्युत् उत्पादन गर्ने र त्यसको गुणस्तरीय प्रसारण तथा वितरण गरेर जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि ऊर्जा उपलब्धता सुनिश्चित गराउने गरी सरकारले काम गरिरहेको जनाइएको छ ।
विद्युत् प्रसारण लाइन निर्माणमा भएको समस्याबारे छलफल गर्न मन्त्रालय पुुगेका धादिङका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा सरकारले ऊर्जामा आत्मनिर्भरताका लागि नीति, कार्यक्रम र रणनीति बनाएरै काम गरिरहेकाले ऊर्जामा आत्मनिर्भर र सुनिश्चित हुने अवस्था आउने बताएको हो ।
१० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, त्यसमध्ये १० हजार मेगावाट स्वदेशमै खपत गराउने र पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य सरकारको छ । अहिले जडित क्षमता एक हजार तीन सय मेगावाट छ भने यो वर्ष नै त्यो क्षमता दोब्बर हुने अपेक्षा सरकारको छ ।
तपाईको प्रतिक्रिया