डेढ वर्षअघि बुटवलमा भएको एउटा कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली…’ बजाएको आरोपमा दुई युवक पक्राउ परे।
उनीहरूलाई त्यसबेला ‘अभद्र व्यवहारू गरेको आरोपमा मुद्दा चलाइएको प्रहरीले बताएको थियो। राजसंस्था र हिन्दू अधिराज्य पुनर्स्थापनाको माग गर्दै आएका ती युवकहरू पक्राउ परेपछि काठमाण्डूको रत्नपार्कमा उनीहरूका साथीहरूले देशैभरि पुरानो राष्ट्रिय गान बजाउने अभियान चलाउने उद्घोष गरे।
तिनै युवाको समूहले पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर अङ्कित टीशर्ट वितरण गर्न थाल्यो। टीशर्ट वितरणमा उनीहरूले ‘श्रीमान् गम्भीर नेपाली…’ सँगै ‘जहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ’ भन्ने गीत पनि घन्काउँथे। यसरी ज्ञानेन्द्र र कोमलको तस्बिर अङ्कित टीशर्ट बाँड्दै हिँड्ने उक्त समूहले आफ्नो नाम ‘वीर गोर्खाली अभियान’ राखेको छ। त्यो समूह २०७५ सालमा गठन भएको त्यसमा आबद्ध व्यक्तिहरूले बताउने गरेका छन्। कमल थापा नेतृत्वको तात्कालिक राष्ट्रिय प्रजातन्त्र पार्टीमा असन्तुष्ट बनेर बाहिरिएको बताउने केही युवाहरूले उक्त समूह सञ्चालन गरिरहेका छन्।
गत वर्ष ज्ञानेन्द्र र कोमलको तस्बिर अङ्कित टीशर्ट वितरणबाट सुरु भएको ‘राजसंस्थावादी’हरूको उक्त अभियानले अहिले देशका विभिन्न भागमा प्रदर्शनको रूप लिन थालेको छ। त्यसमा उक्त वीर गोर्खाली अभियान मात्र होइन, राजसंस्था पुनर्स्थापनाको माग गर्ने फरक-फरक समूहले आआफ्नै ढङ्गले प्रदर्शनहरू गरिरहेको देखिएको छ। यी शृङ्खलाबद्ध प्रदर्शनको अगुवाइ ‘राजसंस्था र हिन्दू राज्य’को माग गर्दै आएका परम्परागत राजनीतिक दलहरूको साटो पहिले खासै पहिचान नबनाएका समूहहरूले गरेको देखिएको छ।
विशेषगरी मुख्य सहरहरूमा युवाहरूले ‘राजा आऊ, देश बचाऊ’को नारा लगाउँदै मोटरसाइकल र्याली निकालिरहेका छन् र ती गतिविधिहरू सामाजिक सञ्जालबाट व्यापक रूपमा प्रचारित छन्। राजसंस्था फर्काउने अभियानमा लागेकाहरूका भनाइमा ‘यसले अब आन्दोलनको रूप लिइसकेको छ।’ यद्यपि गणतन्त्र पक्षधरहरू भन्छन्: यो वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्नु नसक्नुको असन्तुष्टिको अभिव्यक्ति हो र त्यसमा राजतन्त्र पक्षधरहरूले खेल्न खोजिरहेका छन्। देशका विभिन्न स्थानमा भएका प्रदर्शन हेर्दा फरक-फरक समूहको ब्यानरमा यस्ता गतिविधि भएको देखिएको छ।
पछिल्ला प्रदर्शन शृङ्खलाको थालनी गत असोज २४ गते काठमाण्डूमा आयोजित ‘वीर गोर्खाली अभियान’को कार्यक्रममार्फत् भएको उक्त अभियानका एकजना अभियन्ता सौरभ भण्डारी बताउँछन्। उनले भने, ‘प्रशासनको हस्तक्षेपका कारण त्यो कार्यक्रम हामीले सोचेको जस्तो हुन सकेन। लगत्तै दशैँ पनि आयो अनि हामीले केही समय कार्यक्रम रौक्यौँ।’ त्यसपछि गत कात्तिक १७ गते उक्त अभियानले नै बुटवलमा मोटरसाइकल र्याली निकाल्यो।
त्यसमा ठूलै सङ्ख्यामा मानिसहरू भेला भएको बताइन्छ। त्यसयता विभिन्न ब्यानरमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शनहरू भएका छन्। राष्ट्रवादी नागरिक समाज, नेपाल विद्वत् परिषद्, स्वतन्त्र देशभक्त नेपाली नागरिक, पश्चिमाञ्चलवासी नेपाली जनता, नेपाल राष्ट्रवादी समूह, राष्ट्रिय शक्ति नेपाल, २०४७ को संविधान पुनर्स्थापना अभियानलगायतका आगुवाइमा प्रदर्शनहरू भइरहेका छन्। यद्यपि भण्डारीका भनाइमा यी सबैजसो प्रदर्शनमा उनीहरूले सङ्गठित गरेका युवाहरू सहभागी भइरहेका छन्।
शनिवार काठमाण्डूमा ‘राष्ट्रिय नागरिक आन्दोलन’ नामक संस्थाले प्रदर्शन गरेको छ भने देशका विभिन्न भागमा राजसंस्था पक्षधर अन्य समूहले प्रदर्शन गरेका छन्। कोरोनाभाइरस महामारीलाई देखाउँदै सरकारले यस्ता प्रदर्शन नगर्न र गरेका कारबाही गर्ने चेतावनी दिएको थियो। तर सरकारी चेतावनीलाई अवज्ञा गर्दै शनिवार देशका विभिन्न भागमा मोटरसाइकल र्याली र प्रदर्शनहरू भएका हुन्। देशका विभिन्न भागमा भएका प्रदर्शनमा धेरै संस्थाको सहभागिता देखिए पनि आन्दोलनको नेतृत्व गर्ने कुनै एउटा शक्ति वा नेता नभएको स्वयम् प्रदर्शनकारीहरू बताउँछन्।
‘राष्ट्रिय नागरिक आन्दोलन’का संयोजक बालकृष्ण भन्छन्, ‘यो नागरिकहरूको स्वतस्स्फूर्त आन्दोलन हो। यसमा यो वा त्यो नेता भन्ने छैन। भोलि जनताले नेतृत्व तय गर्छ।’ नेपालमा राजसंस्था आवश्यक छ भन्ने वकालत गर्दै आएका पत्रकार तथा लेखक युवराज गौतम भन्छन्, ‘यो आन्दोलनमा नेता छैनन् तर नीति छ। त्यसैले गर्दा यसैबाट नेता उब्जिन सक्छ।’ उनी अहिलेका आन्दोलनकारीहरूलाई ‘राजसंस्था चाहिएको तर राप्रपा वा यस्तै कुनै राजसंस्थाको नाममा राजनीतिक फाइदा लिने दल नचाहिएको’ बताउँछन्। देशैभरि अन्य संस्था र समूहले गरेका प्रदर्शनमा सहभागिता बढेको देखिएपछि राप्रपाले आफ्नै अगुवाइमा पनि जुलुस निकाल्न थालेको पाइएको छ। शुक्रवार मात्रै हेटौँडामा राप्रपाले जुलुस निकालेको थियो।
जानकारहरूका अनुसार राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागिता बढेपछि अहिले पूर्वराजावादीहरूमा आन्दोलनको नेतृत्व आफूले गरेको देखाउने होडबाजी पनि सुरु भएको छ। राजतन्त्र पक्षधरहरूले मुख्य रूपमा २०४७ सालको संविधानको पुनर्स्थापनाको माग उठाएका छन्। विभिन्न समूह र उपसमूहमा विभाजित उनीहरूमध्ये अधिकांशमा देखिएको समानता पनि यो मागमै हो। त्यस्तै राजसंस्था पुनर्स्थापनामा पनि उनीहरू एक देखिएको पाइएको छ। तर हिन्दू राष्ट्रबारे भने यी समूहबीच पनि फरक मतहरू रहेका छन्। कसैले हिन्दू धर्मसापेक्ष राज्यको माग गरिरहेका छन् भने कसैले हिन्दू अधिराज्य।
यी प्रदर्शनहरूमा समर्थन र सहभागिता पनि जनाइरहेको विश्व हिन्दू महासङ्घले हिन्दू अधिराज्यको माग गरिरहेको छ। महासङ्घ अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारी भन्छिन्, ‘हामीले स्थापनाकालदेखि नै हिन्दू अधिराज्य र हिन्दू अधिराज मान्दै आएका हौँ। त्यसैले हाम्रो यो आन्दोलनमा समर्थन र सहकार्य छ।’ ‘नेपाललाई हिन्दू अधिराज्य मात्र होइन बौद्ध र किराँतलाई पनि समेट्नुपर्छ भन्ने हाम्रो मान्यता छ।’ आन्दोलनरत अन्य सङ्गठन र राप्रपाले समेत हिन्दू राज्यको माग गरिरहेका छन्। राजसंस्था पक्षधरहरूको प्रदर्शनलाई नजिकबाट नियालेको बताउनेहरूका अनुसार यी प्रदर्शनहरूमा युवा आकर्षण देखिएको छ। त्यसको कारणबारे पत्रकार गौतम भन्छन्, ‘मेचीदेखि महाकालीसम्म आन्दोलन फैलिएको छ। त्यसमा नवोदित युवा बढी देखिएका छन्।’
‘दलमा लागेकाभन्दा पनि मुलुक बर्बाद हुँदैछ। नेताको मुख ताक्नुभन्दा बलियो राष्ट्रवाद चाहिन्छ भन्नेहरू सहभागी भएको देखिन्छ। उनीहरूले एउटा बलियो सिंहको खोजी गरेका छन्।’ उनी ‘पछिल्लो समय नेपाल विदेशीको खेल मैदान भएको र नेताहरूले व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय स्वार्थलाई नै दाउमा लगाएको’ देखेकाले युवाहरू ‘आक्रोशित र क्रुद्ध’ बनेको बताउँछन्। उता गणतन्त्र र सङ्घीयताका प्रखर समर्थक प्राध्यापक कृष्ण खनाल चाहिँ यो गतिविधिमा केही युवाको सङ्ख्या बढेको देखिनुलाई अहिलेको सरकारको कार्यशैलीसँग जोडेर हेर्छन्। उनी जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा ‘असन्तुष्टिका रूपमा’ त्यो पोखिएको र राजावादीहरूले जुर्मुराउने अनुकूल समय पाएको बताउँछन्। बीबीसी
तपाईको प्रतिक्रिया