काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फरक फरक प्रस्ताव सचिवालय बैठकमा प्रस्तुत भएपछि नयाँ राजनीतिक बहस सुरु भएको छ ।
प्रस्ताव सार्वजनिक रुपमा बाहिर आएसँगै नेकपा इतर पक्षकाले घरझगडा पेचिलो बढ्ने अड्कलबाजी गरिरहेका बेला झगडाको ‘चुरो कुरो’ र ‘मनका भावना’ बाहिर आएकाले विवाद सल्टिने दिशामा पुगेको नेकपाका दोस्रो तहका नेताहरुको विश्वास रहेको छ ।
अध्यक्ष प्रचण्डले कार्तिक २८ गते बुधबार बसेको सचिवालय बैठकमा १९ बुँदे प्रस्ताव एकतर्फी रुपमा पेश गर्नुभएको थियो । सो प्रस्ताव अध्यक्षद्वयको सहमतिमा नआएकाले राजनीतिक प्रस्तावको रुपमा पार्टीले स्वीकार्न नसक्ने तर्क एक पक्षको छ भने अर्को पक्षले त्यसलाई स्वीकार गरी पार्टीको दस्तावेजको रुपमा राखिने तर्क गरेको छ ।
दुवै अध्यक्षको प्रस्ताव प्रश्न उत्तरको रुपमा आएको छ । दुई अध्यक्षबीच बालुवाटारमा दैनिकजसो बैठक र छलफल भए पनि ‘दुबैबीच कतिसम्मको तिक्तता छुपेको रहेछ’ भन्नेहरु पनि देखिएका छन् । पार्टीका अर्कोथरि नेताहरुले बल्झिएको घाउबाट खिल बाहिर निस्किएकाले अब घाउ निको हुने तर्क गरेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले शनिबार ३८ पृष्ठको ५३ बुँदे प्रस्ताव पेश गरेका थिए । प्रस्तावको शुरुवातमा अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको खण्डन गरे । उठाइएका प्रश्न र आरोपको बुँदागत जवाफ र खण्डन गरेका छन् । प्रतिवेदनको बीचमा सरकारले गरेका काम र उपलब्धीका बारेमा प्रष्ट पारे । त्यस्तै अन्तिमतिर पार्टी जोगाउन र एकताबद्ध भएर अगाडि बढ्न नेता कार्यकर्तालाई आव्हान गरेका छन् । यसर्थ प्रतिवेदन विवाद सल्टाउन उन्मुख देखिन्छ ।
केन्द्रीय कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशनको मिति तोकिसकेको छ । अबको चार महिनामा आन्तरिक विवादमा अल्झनुभन्दा पार्टीका नेताहरु एकताबद्ध भएर सबै समस्याको समाधान महाधिवेशनबाटै खोज्ने दिशामा जानसके आन्तरिक विवाद तत्कालका लागि साम्य हुने गोरखापत्रले लेखेको छ ।
तपाईको प्रतिक्रिया