काडमाडौँ । भारतको पतञ्जली योगपीठले टेलिभिजन च्यानल सञ्चालन गर्न लागेकोमा नेपाल पत्रकार महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका महासचिव रोशन पुरीले आज आइतवार विज्ञप्ति निकालेर भारतको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा नेपालको प्रचलित कानुनले सञ्चार माध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लङ्घन भएको उल्लेख छ ।
दर्ता प्रक्रियासमेत पूरा नगरि टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासङ्घले सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन चाहेको विज्ञप्तिमा भनिएको छ । यस्तै महासङ्घले कानुन विपरीत सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चार माध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया